गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

Image

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट पीडितहरुले आवाज उठाउदा आक्रोश र गालीगलौज गरिएको भन्दै आपत्ति जनाएकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा अर्यालले सामाजिक सञ्जालमार्फत सरकारी संयन्त्र तथा प्रधानमन्त्रीका नामबाट सञ्चालित एकाउन्टहरूले पीडित नागरिक र आलोचकहरूमाथि आक्रोश र गालीगलौज गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले प्रधानमन्त्रीको नाममा आईडी बनाएर दुरुपयोग गर्नेलाई कारबाही गर्दै अनाधिकृत खाताहरू तत्काल बन्द गर्न माग गरिन् । उनले सरकारी खर्चमा चल्ने हेलिकप्टर ’हामी नेपाल’ जस्ता संस्थाका कन्टेन्ट क्रिएटर बोक्न प्रयोग गरिएको र उद्धारभन्दा बढी सामाजिक सञ्जालको रिल बनाउनमा लागेको आरोप लगाइन् । 

भदौ १० गतेको भीषण बाढी–पहिरोमा राज्यले समयमै प्राविधिक क्षमता, विज्ञता र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नसक्दा ठूलो मानवीय क्षति भएको उनले बताइन् । 

उनले खोज, उद्धार, राहत र पुनस्र्थापनालाई प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय विशेष समिति बनाउनुपर्ने धारणा राखे साथै उनले २०७२ को भूकम्पपछिको अनुभवलाई आधार मानेर प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्वायत्त र अधिकारसम्पन्न ’विशेष पुनर्निर्माण प्राधिकरण’ गठनको प्रस्ताव गरिन् । 

गृहमन्त्रीले आफैं अभियुक्त तोक्ने र कानुनभन्दा माथि रहेर अभिव्यक्ति दिने गरेको भन्दै उनले लोकतान्त्रिक मूल्य–मान्यताको खिल्ली उडाएको आरोप समेत लगाइन् ।