वाणिज्य बैंकहरुले असोज महिनाको लागि निक्षेपको औसत ब्याजदर घटाएका छन्। भदौमा ४.१३ प्रतिशत रहेको वाणिज्य बैंकहरुमा निक्षेपको औसत ब्याजदर असोज महिनाको लागि ४.०८ प्रतिशत कायम भएको छ।
बैंकहरुले हरेक महिनाको अन्तिम दिन आउँदो महिनाका लागि ब्याजदरको सूची प्रकाशित गर्नुपर्ने व्यवस्था छ। बैंकहरुले आज भदौ ३१ मा प्रकाशित ब्याजदर अनुसार, १६ वटा बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन्।
४ वटा बैंकले भने निक्षेपमा दिने ब्याजदर घटाएका छन्। यसरी ब्याजदर घटाउने बैंकहरुमा नविल, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी र एभरेष्ट बैंक छन्।
नयाँ ब्याजदरअनुसार असोजमा निक्षेपकर्तालाई सबैभन्दा बढी व्याज दिनेमा प्रभु बैंक रहेको छ। उसले व्यक्तिगत मुद्दतीमा अधिकतम ४.५५ प्रतिशत ब्याज दिने भएको छ। कुमारी बैंकले असोज महिनामा सबैभन्दा कम ३.७३ प्रतिशत मात्रै ब्याजदर दिने भएको छ।
बैंक तथा वित्तीय संस्थामा लामो समय देखि लगानी योग्य रकम (तरलता) थुप्रिएको छ। अहिले वित्तीय प्रणालीमा १५ खर्बभन्दा बढी ऋण दिन मिल्ने रकम रहेको बैंकरहरुले बताइरहेका छन्। कर्जाको माग कमजोर भएपछि बैंकहरूले निक्षेपमा बढाएर ब्याज दिन सक्ने अवस्था छैन।
कर्जामा पनि बैंकहरूले ब्याजदर घटाइरहेका छन्। तर, तीन वर्ष यता बैंक वित्तीय संस्थामा कर्जाको माग कमजोर भइरहेको छ।













