पाकिस्तानमा भएको शंकास्पद आत्मघाती बम विस्फोटमा ११ सर्वसाधारण र पाँच प्रहरी अधिकारीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।
घटना उत्तर–पश्चिम पाकिस्तानमा जुम्माको नमाजका क्रममा एक प्रहरी परिसरलाई लक्षित गरी गरिएको थियो ।
खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित ‘ओल्ड पुलिस लाइन्स’को प्रवेशद्वारमा विस्फोटक पदार्थले भरिएको एउटा गाडी ठोक्किएपछि विस्फोट भएको स्थानीय सञ्चारमाध्यम जिओ न्युजलाई उद्धृत गर्दै एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
विस्फोटपछि एक ‘आतंककारी’ पनि मारिएको प्रहरीले जनाएको छ । विस्फोटका कारण प्रहरी परिसरभित्र रहेको मस्जिदबाहिर ठूलो खाल्डो परेको छ ।
यसैबीच, पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा भएका छुट्टाछुट्टै दुईवटा कारबाहीका क्रममा पाकिस्तानी सुरक्षा बलले सात लडाकु मारेको सरकारी रेडियो पाकिस्तानले जनाएको छ ।














