दुई महिनामा एक लाख ३० हजार बढीले लिए श्रम स्वीकृति

Image

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार २०८३ साउन १ गतदेखि भदौ मसान्तसम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति जारी गरिएको हो । श्रम स्वीकृति लिनेमा एक लाख १२ हजार ३१५ जना पुरुष र १८ हजार १६८ जना महिला छन् ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पाँच हजार ५९९ ले कम रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या ४.११ प्रतिशतले घटेको छ । 
विभागको तथ्यांकअनुसार २०८३ साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका छन् । 

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका थिए । २०८२ साउनमा ६८ हजार ११० र भदौमा ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए । 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा कुल एक लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।