पाकिस्तानले बलुचिस्तानमा बढ्दो विद्रोही आक्रमणसँग जुध्न दुई हजार पूर्वअफगान सैनिक तथा प्रहरीलाई भर्ना गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानको बलुचिस्तानमा बलुच विद्रोहीको बढ्दो आक्रमणका कारण पाकिस्तानी सेना र सुरक्षा बलमाथि दबाब बढ्दै गएको छ । त्यसैले विद्रोहीसँग जुध्न पाकिस्तानले ती पूर्वअफगान सैनिक तथा प्रहरीलाई भर्ना गरेको जनाइएको छ ।
भर्ना गरिएका मध्ये अधिकांश अफगानिस्तानमा अमेरिकी सेनासँग मिलेर तालिबानविरुद्ध लडाइँ लडेका पूर्वअफगान सैनिक छन् । उनीहरूले प्रतिमहिना ४० हजार पाकिस्तानी रुपैयाँ पाउने एक पूर्वअफगान सैनिकले बताएका छन् ।
बलुचिस्तानमा सुरक्षा कारबाही सञ्चालन गरिए पनि विद्रोहीले प्रहरी चौकी, सरकारी कार्यालय र राजमार्गलाई निरन्तर निसाना बनाइरहेका छन् ।
सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्किएपछि धेरै पूर्वअफगान सैनिकको जागिर र तलब बन्द भयो । प्रतिशोधको डरले उनीहरूमध्ये धेरैजना भागेर पाकिस्तान आएका थिए ।
२०२१ देखि २०२३ बीच पूर्वसैनिक तथा सुरक्षाकर्मीको हत्या भएका २१८ घटना सार्वजनिक भएका थिए । यस्तो वातावरणमा उनीहरू अफगानिस्तान फर्कन असम्भवजस्तै बनेको थियो ।
पाकिस्तान आएपछि उनीहरूसँग रोजगारीको अवसर थिएन । आर्थिक समस्या बढ्दै गएको अवस्थामा सुरक्षा बलमा जागिरको अवसर पाएपछि उनीहरूले त्यसलाई स्वीकार गरेका जनाइएको छ ।
यी पूर्वअफगान सैनिकसँग हतियार चलाएको तथा युद्ध लडेको अनुभव छ । उनीहरू तालिबानविरुद्ध लडिसकेका छन् । सीमावर्ती क्षेत्रमा समेत काम गरिसकेका छन् ।














