वासिङ्टन — अमेरिकामा ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासनविरुद्ध थालेको कडा अभियानसँगै ठूलो संख्यामा गैरकानुनी आप्रवासी अमेरिकाबाट बाहिरिएका छन्। अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) का अनुसार हालसम्म करिब ३३ लाख गैरकानुनी आप्रवासी अमेरिकाबाट बाहिरिएका छन्।
डीएचएसका अनुसार यो संख्यामा अमेरिकी सरकारले देशनिकाला गरेका तथा आफैं अमेरिका छाडेर गएका आप्रवासी दुवै समावेश छन्। प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार ६ लाख ७५ हजारभन्दा बढीलाई देशनिकाला गरिएको छ भने करिब २२ लाख आप्रवासी आफैं अमेरिका छाडेर गएको दाबी गरिएको छ।
यसको अर्थ ३३ लाखै व्यक्तिलाई अमेरिकी अधिकारीहरूले पक्राउ गरेर देशनिकाला गरेका भने होइन। ठूलो हिस्सा स्वेच्छिक रूपमा अमेरिका छाडेर गएको अमेरिकी प्रशासनको दाबी छ। अमेरिकाको कडा अध्यागमन नीतिको प्रभाव नेपाली नागरिकमा समेत देखिन थालेको छ। अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) को तथ्यांकअनुसार फेब्रुअरी २०२५ देखि फेब्रुअरी २०२६ सम्म ३८८ जना नेपाली नागरिक पक्राउ परेका थिए। तीमध्ये १५६ जना नेपाल फर्काइएका थिए।
पक्राउ परेका नेपालीमध्ये २६४ जनाको आपराधिक अभियोग वा विचाराधीन आपराधिक मुद्दा नभएको तर उनीहरू अध्यागमनसम्बन्धी उल्लंघनमा परेको तथ्यांकमा उल्लेख छ। यस्तै, पक्राउ परेकामध्ये १७४ जनाविरुद्ध अन्तिम देशनिकाला आदेश जारी भइसकेको थियो।
अमेरिकाको अध्यागमन अदालतबाट नेपाली नागरिकविरुद्ध जारी हुने देशनिकाला आदेश पनि पछिल्लो समय बढेको देखिन्छ। उपलब्ध तथ्यांकअनुसार २०२४ मा नेपाली नागरिकविरुद्ध १९६ वटा देशनिकाला आदेश जारी भएकोमा २०२५ मा यो संख्या बढेर ७८३ पुगेको थियो।२०२६ को पहिलो ६ महिनामै थप ३७९ वटा देशनिकाला आदेश जारी भएको तथ्यांक छ।
तर देशनिकाला आदेश जारी हुनु र तत्कालै सम्बन्धित व्यक्तिलाई अमेरिकाबाट फर्काइनु एउटै कुरा भने होइन। अदालतको आदेशविरुद्ध पुनरावेदन, कानुनी संरक्षण वा अन्य अध्यागमन प्रक्रियाका कारण कतिपय व्यक्ति अमेरिकामै रहन सक्ने अवस्था हुन्छ।
नेपालको अध्यागमन विभागका तथ्यांकअनुसार २०२५ मा अमेरिकाबाट ५५३ जना नेपाली नागरिक देशनिकाला भएर नेपाल फर्किएका थिए।सोही वर्षको नोभेम्बरमा ८० जना र डिसेम्बरमा ९८ जना नेपाली फर्काइएका थिए। २०२६ जनवरीमा मात्रै १०१ जना नेपाली देशनिकाला भएर नेपाल फर्किएको विवरण सार्वजनिक भएको छ।
अमेरिकी प्रशासनले गैरकानुनी आप्रवासनलाई नियन्त्रण गर्ने अभियानलाई अझ कडा बनाउँदै लगेका बेला नेपाली नागरिकसमेत यसको प्रत्यक्ष प्रभावमा पर्न थालेका छन्। विशेषगरी वैधानिक अध्यागमन हैसियत नभएका, अदालतबाट देशनिकाला आदेश पाएका वा भिसा तथा अध्यागमनसम्बन्धी नियम उल्लंघन गरेका नेपाली जोखिममा पर्न सक्ने देखिएको छ।
यद्यपि डीएचएसले सार्वजनिक गरेको ३३ लाखको कुल संख्यामा नेपाली नागरिक कति छन् भन्ने छुट्टै तथ्यांक भने सार्वजनिक गरेको छैन।













