अमेरिकाद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासित

Image

 संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पुगेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाले देशबाट निष्कासन गरेको छ । महासभा सकिएपछि अमेरिकी विदेश मन्त्रालयले उनीहरूलाई अमेरिका छाड्न आदेश दिएको थियो ।

अमेरिकी आदेश बेवास्ता गरेपछि उनीहरूलाई निष्कासन गरिएको एक अमेरिकी अधिकारीले बताएका छन् । एक कूटनीतिज्ञ शुक्रबार राति र अर्का एकजना शनिबार बिहान न्युयोर्कबाट प्रस्थान गरेका छन् ।

अमेरिकी अधिकारीका अनुसार, न्युयोर्कस्थित महासभामा सहभागी इरानी प्रतिनिधिमण्डलका ती दुई सदस्यलाई निर्धारित समयभन्दा अगावै अमेरिका छाड्न भनिएको थियो । तर, आदेश पालना नगरेपछि उनीहरूलाई देश निकाला गरिएको बताइएको छ ।

अधिकारीले अमेरिकी विदेशमन्त्री मार्को रुबियो आफ्नो अडानमा दृढ रहेको बताए । महासभा सकिएको लामो समय बितिसक्दा पनि इरानी प्रतिनिधिमण्डलका दुई सदस्य न्युयोर्कमै रहेकाले उनीहरूलाई निष्कासन गरिएको बताए ।