हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन : गगन थापा

Image

नेपाली कांग्रेसका सभापति गगन थापाले हिजोको प्रश्नको उत्तर दिएर पार्टी नटिक्ने बताएका छन् । पार्टीको १५औँ महाधिवेशनमा उनले आजको प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए । 

“हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन । आजको प्रश्नको उत्तर दिनुपर्छ । आजको प्रश्न के हो ?,” उनले भने, “त्यसका लागि आजको प्रश्न सोध्ने मान्छे को हो ? तपाईं र कांग्रेसको कोठामा बसेर आफैँ प्रश्न र आफैँ उत्तर बनाएर हुँदैन ।” 

उनले कांग्रेसको कोठाबाट बाहिर निस्कनुपर्ने बताए । “कांग्रेस नभएको एउटा १८ वर्षको युवकलाई भेटेर सोधौँ त उसले सोध्ने प्रश्न के छ ?,” उनले भने, “२००७, ०४६ साल, ०६२/६३ मा थिएन उ । तर, इतिहासलाई उसले माया गर्छ ।” 

अहिले त्यो युवाले राम्रो शिक्षा पाइन्छ कि पाइँदैन ? शिक्षा पाएपछि आफ्नो पेट पाल्न सक्ने राम्रो काम नेपालमा पाउँछु कि पाउँदिन भन्ने प्रश्न रहेको बताए । विगतमा प्रश्नहरूको उत्तर कांग्रेससँग भएकाले मात्रै टिकेको बताए । अब त्यसो नहुने उनको भनाइ छ ।