कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

Image

वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई शुक्रबार दिउँसो काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। रामेछापको सुनापती घर भएकी खड्कालाई ठगीको आरोपमा पक्राउ गरिएको ब्युरोका एसएसपी अनुपमशमशेर जबराले जानकारी दिएका छन्।

पीडित युवाहरूले जाहेरी दिएपछि खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।

यस प्रकरणमा प्रहरीले यसअघि नै कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरिसकेको छ। उनीहरूमाथि प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरी ठगी गरेको आरोप छ।

प्रहरीका अनुसार खड्कासहितका व्यक्तिहरूले केयर गिभरको रोजगारीका लागि इजरायल पठाइदिने भन्दै पीडितहरूबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। खड्काले समेत ठगीबाट प्राप्त रकम बाँडफाँट गरी लिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

एसएसपी जबराका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीले आफूले सङ्कलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयान दिएकी छन्।

वैदेशिक रोजगारीका लागि नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा सञ्चालन गरेको थियो। त्यस क्रममा लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए। तर, लक्की ड्रमा छनोट हुन नसकेका १५६ जनालाई समेत इजरायल पठाइदिने भन्दै रकम असुलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको भूमिका, रकमको लेनदेन र ठगीबाट प्राप्त रकमको बाँडफाँटबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।