महाकाली नदीमा नेपाल टेलिकमको चुँडिएको तार पुनः तान्ने क्रममा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत असई सागरराज थारु रहेका छन्।
सशस्त्र प्रहरीले दिएको विवरणअनुसार शनिबार दिउँसो १२:१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ रबर बोटको सहायताले महाकाली नदी पारि टेलिकमको तार तान्ने क्रममा घटना भएको हो।
केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाउँदा नेपाल टेलिकमको तारसमेत चुँडिएको थियो। तार चुँडिएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।
अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले नदीमा रहेको तार रबर बोटको सहायताले वारपार तान्ने काम भइरहेको थियो। सोही क्रममा असई थारुको खुट्टामा तार अल्झिएपछि उनी रबर बोटबाट नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनापछि बेपत्ता असई थारुको खोजी कार्य जारी रहेको छ। उनको अवस्था तथा खोजी कार्यको पछिल्लो विवरण आउन बाँकी छ।















