बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगाएको छ। आइतबार बिहान आएको बाढीले पुल बगाएपछि तल्लो चुम क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पुल बगाएसँगै वडा नम्बर ६ र ७ का विभिन्न गाउँमा आवतजावत गर्ने बाटो बन्द भएको छ।
‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ गुरुङले भनिन्, ‘फेरि पहिलेजस्तै काठको भर्याङ र डोरीको सहायताले बाटो बनाउनुपर्ने हुन्छ।’
सर्दिभिरस्थित उक्त पुल नेपालको दोस्रो क्यान्टिलिभर पुल हो। नेपालको पहिलो क्यान्टिलिभर पुल पनि गोरखाकै केरौँजास्थित यारुबगरमा रहेको छ। बेलायती सहयोगी संस्था डीएफआईडीको सहयोगमा सर्दिभिरको पुल निर्माण गरिएको थियो।
करिब ९० मिटर लामो उक्त पुल निर्माण भएपछि तिब्बतसँग सीमा जोडिएका चुम्तेत र छेकम्पारका स्थानीयवासीलाई वर्षभरि आवतजावत गर्न सहज भएको थियो। पुल निर्माण हुनुअघि स्थानीय बासिन्दा भीरमा डोरीको सहायताले झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए।
भीर खोपेर निर्माण गरिने क्यान्टिलिभर पुलले दुर्गम बस्तीलाई जोड्दै आएको थियो। तर, बाढीले पुल बगाएपछि स्थानीय बासिन्दा पुनः आवागमनको समस्यामा परेका छन्।














