धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

Image

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको राहदानी जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

क्रिश्चियन धार्मिक गतिविधि सञ्चालनमा संलग्न रहेको भनिएको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा नेपाल आएका विदेशी चिकित्सकसहितको टोली परिचालन गरी स्वास्थ्य शिविर सञ्चालन गरेको पाइएको हो ।

विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको जनाइएको छ ।

गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिक सहभागी थिए । शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको बताइएको छ ।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङ्देलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको जनाइएको छ । कानेपोखरी–७, बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन बनाएका थिए । ती भवन हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग हुँदै आएको बताइएको छ ।

उक्त स्थानमा धार्मिक गतिविधि सञ्चालन भइरहेको विषयमा विवाद सुरु भएपछि स्थानीयलाई खुसी पार्ने उद्देश्यले श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको बताइएको छ । हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ ।

शिविरमा सहभागी १० विदेशी नागरिकमध्ये तीन जना ब्राजिल, दुई जना क्यानडा र पाँच जना अमेरिकाका रहेको जनाइएको छ । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको विवरणमा उल्लेख छ ।

पर्यटक भिसामा आएका विदेशी नागरिकले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको विषयमा सम्बन्धित निकायले थप कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।