पत्रकारमाथि प्रहरीको धरपकड: ३ पत्रकार पक्राउ, थप ३ जनाको खोजी

Image

काठमाडौं । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारहरूलाई पक्राउ गर्नुका साथै केही पत्रकारको खोजी गरेको छ। एकै दिन तीन जना पत्रकार पक्राउ परेका छन् भने कम्तीमा तीन जना पत्रकार प्रहरीको खोजी सूचीमा रहेको बताइएको छ।

पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल रहेका छन्।

त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ। प्रहरीले केही सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ भने केही कार्यालयमा पुगेर उनीहरूको खोजी गरेको छ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरस्थित नेपाल प्रेस डटकमको कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरेको हो। कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा आएका प्रहरीले उनलाई नियन्त्रणमा लिएर साइबर ब्युरोमा बुझाएका थिए।

प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको जनाएको छ। यद्यपि, उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

त्यस्तै, डिएनए खबरका प्रधानसम्पादक बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनलाई सुरुमा ‘इसेवा नम्बरको विषयमा बुझ्नुछ’ भन्दै फोन गरिएको थियो। सामान्य सोधपुछका लागि बोलाइएको ठानेर प्रहरी कार्यालय पुगेका उनलाई त्यहीँ नियन्त्रणमा राखिएको हो।

प्रहरीले बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक बराललाई कुन कसुरमा नियन्त्रणमा लिएको हो भन्नेबारे स्पष्ट जानकारी दिएको छैन।

यसैबीच, प्रहरीले अनामनगरस्थित दियोपोस्ट डटकमको कार्यालयमा पुगेर प्रधानसम्पादक विश्वकर्मा र सम्पादक बुढाथोकीको खोजी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको कमान्डमा चार जनाको प्रहरी टोली कार्यालय पुगेको थियो।

दियोपोस्टका समाचार संयोजक मदन ढुंगानाका अनुसार प्रहरी टोली कार्यालय परिसरभित्रै प्रवेश गरेको थियो। प्रहरी टोलीले कार्यालयमा कार्यरत पत्रकारहरूको मोबाइलसमेत नियन्त्रणमा लिएर जाँच गरेको जानकारी आफूले पाएको उनले बताएका छन्।

सम्पादक बुढाथोकीका अनुसार यसअघि उनलाई र प्रधानसम्पादक विश्वकर्मालाई फोन गरेर ठेगाना सोधिएको थियो। त्यस्तै, प्रहरी टोली नयाँ पत्रिकाको समाचार कक्षमै पुगेर पत्रकार नवराज मैनालीको पनि खोजी गरेको छ।

एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने घटना सार्वजनिक भए पनि यी सबै घटनाबीच आपसी सम्बन्ध छ वा छैन भन्ने खुलेको छैन। प्रहरीले कुन पत्रकारलाई कुन घटनामा अनुसन्धान गर्न खोजेको हो, उनीहरूविरुद्ध उजुरी परेको छ वा छैन र पक्राउ गर्नुपर्ने आधार के हो भन्नेबारे पनि स्पष्ट पारेको छैन।

पत्रकार पक्राउ गर्नुका साथै सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेर मोबाइल जाँच गरिएको घटनाले पत्रकारको गोपनीयता, समाचार स्रोतको संरक्षण र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।

यसअघि बिहीबार प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्वबारे प्रकाशित समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो।

प्रहरीले विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने जनाएको थियो।

तर शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर गरिएको धरपकड प्रहरी प्रधान कार्यालयको उक्त चेतावनीसँग सम्बन्धित छ वा छुट्टाछुट्टै अनुसन्धानको प्रक्रिया हो भन्नेबारे प्रहरीले कुनै स्पष्ट जानकारी दिएको छैन।