प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गर्नुका साथै केही पत्रकारको खोजी गरेको छ। एकै दिन तीन जना पत्रकार पक्राउ परेका छन् भने कम्तीमा तीन जना पत्रकार प्रहरीको खोजीमा रहेको बताइएको छ। तर, पत्रकार पक्राउका घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले भने आफूलाई कुनै जानकारी नभएको जनाएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउका घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन्।
टिभी अन्नपूर्णसँग कुरा गर्दै दाहालले भनिन्, ‘आज सञ्चारमाध्यमका कार्यालयमा भएका घटनाक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै पनि संलग्नता छैन।’ उनले यस विषयमा आफूहरूलाई कुनै जानकारीसमेत नभएको बताइन्।
शुक्रबार पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल रहेका छन्।
त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ। प्रहरीले केही सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ भने अन्य कार्यालयमा पुगेर उनीहरूको खोजी गरेको छ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरस्थित नेपाल प्रेस डटकमको कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरेको हो। कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा पुगेका प्रहरीले उनलाई नियन्त्रणमा लिएर साइबर ब्युरोमा बुझाएका थिए।
प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको जनाएको छ। यद्यपि, उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
त्यस्तै, डिएनए खबरका प्रधानसम्पादक बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनलाई सुरुमा ‘इसेवा नम्बरको विषयमा बुझ्नुछ’ भन्दै फोन गरिएको थियो। सामान्य सोधपुछका लागि बोलाइएको ठानेर प्रहरी कार्यालय पुगेका उनलाई त्यहीँ नियन्त्रणमा लिइएको हो।
प्रहरीले बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक बराललाई कुन कसुरमा नियन्त्रणमा लिइएको हो भन्नेबारे स्पष्ट जानकारी दिएको छैन।
यसैबीच, प्रहरीले अनामनगरस्थित दियोपोस्ट डटकमको कार्यालयमा पुगेर प्रधानसम्पादक विश्वकर्मा र सम्पादक बुढाथोकीको खोजी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको कमान्डमा चार जनाको प्रहरी टोली कार्यालय पुगेको थियो।
दियोपोस्टका समाचार संयोजक मदन ढुंगानाका अनुसार प्रहरी टोली कार्यालय परिसरभित्रै प्रवेश गरेको थियो। प्रहरी टोलीले कार्यालयमा कार्यरत पत्रकारहरूका मोबाइलसमेत नियन्त्रणमा लिएर जाँच गरेको जानकारी आफूले पाएको उनले बताएका छन्।
सम्पादक बुढाथोकीका अनुसार यसअघि उनलाई र प्रधानसम्पादक विश्वकर्मालाई फोन गरेर ठेगाना सोधिएको थियो। त्यस्तै, प्रहरी टोली नयाँ पत्रिकाको समाचार कक्षमै पुगेर पत्रकार नवराज मैनालीको समेत खोजी गरेको थियो।
एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने घटना सार्वजनिक भए पनि यी घटनाबीच आपसी सम्बन्ध छ वा छैन भन्ने खुलेको छैन। प्रहरीले कुन पत्रकारलाई कुन घटनामा अनुसन्धान गर्न खोजेको हो, उनीहरूविरुद्ध उजुरी परेको छ वा छैन र पक्राउ गर्नुपर्ने आधार के हो भन्नेबारे पनि स्पष्ट पारेको छैन।
पत्रकारलाई पक्राउ गर्नुका साथै सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर मोबाइल जाँच गरिएको घटनाले प्रेस स्वतन्त्रता, पत्रकारको गोपनीयता तथा समाचार स्रोतको संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ।
पत्रकारिता आलोचनात्मक प्रश्न र सार्वजनिक जवाफदेहिताभन्दा माथि हुँदैन। समाचारप्रति असहमति भए खण्डन गर्ने, आधिकारिक धारणा सार्वजनिक गर्ने तथा स्थापित कानुनी र संस्थागत संयन्त्रमार्फत उपचार खोज्ने बाटाहरू छन्। तर समाचारको स्रोत खोज्ने नाममा प्रहरी शक्ति परिचालन गरी पत्रकारलाई पक्राउ गर्ने र सञ्चारमाध्यममा दबाब सिर्जना गर्ने कार्यले स्वतन्त्र पत्रकारिताको अभ्यासमा भयको वातावरण सिर्जना गर्न सक्छ।
यसअघि बिहीबार प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्वबारे प्रकाशित समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो।
प्रहरीले विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने जनाएको थियो।
तर, शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर गरिएको धरपकड प्रहरी प्रधान कार्यालयको उक्त चेतावनीसँग सम्बन्धित छ वा छुट्टाछुट्टै अनुसन्धानको प्रक्रिया हो भन्नेबारे प्रहरीले कुनै स्पष्ट जानकारी दिएको छैन।














