अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

Image

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज अपराह्नदेखि अर्नब चक्रवातको प्रभाव क्रमिक रुपमा कम हुँदै जाने जनाएको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।

आज राति हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सम्भावित वर्षाका कारण धानबाली भित्राउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।