समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टीको नीतिविपरीत : रास्वपा प्रवक्ता खरेल

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमै प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्।

खरेलले नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै रास्वपा त्यसको पक्षमा स्पष्ट रहेको बताएका हुन्।

अनलाइनखबरसँग कुरा गर्दै उनले समाचारकै विषयलाई आधार बनाएर पत्रकारलाई पक्राउ गर्नु वा सोधपुछका नाममा धरपकड गर्नु संविधान र प्रेस स्वतन्त्रताको मर्मविपरीत हुने बताए।

‘पत्रकारलाई कुनै पनि बहानामा समाचारकै आधारमा पक्राउ गर्नु हाम्रो पार्टीको नीति र सिद्धान्तमा छैन। नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ। पार्टी त्यसको स्पष्ट पक्षमा छ,’ खरेलले भने।

उनले समाचार लेखेकै विषयमा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि दबाब सिर्जना गर्ने वा धरपकड गर्ने कार्य पनि पार्टीको आधिकारिक नीतिविपरीत रहेको स्पष्ट पारे।

यद्यपि, पछिल्लो समय सञ्चारकर्मी पक्राउ तथा धरपकडका घटनाबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विवरणमाथि पार्टीले आन्तरिक छलफल गरिरहेको उनले जानकारी दिए।

सम्बन्धित घटनामा पत्रकारलाई किन पक्राउ गरियो र धरपकड गर्नुको कारण के थियो भन्नेबारे सबै तथ्य नबुझी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ।

‘सम्बन्धित केसमा किन लगियो, कसरी धरपकड गरियो र के कारणले गरियो भन्ने कुरा सञ्चारमाध्यममा आएकै आधारमा सबै कुरा भन्न सकिँदैन,’ उनले भने।

खरेलले घटनाको वास्तविकता बुझेर छलफलपछि पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए। तर समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने वा समाचारकै विषयमा धरपकड गर्ने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनको भनाइ छ।

यसैबीच, आज नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोसाकमा खटिएका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन्। प्रहरी टोलीले मैनालीलाई नलगी कार्यालयबाट नफर्किने भन्दै कार्यालयमै बसेको बताइएको छ।

पत्रकारमाथि भइरहेको पक्राउ तथा धरपकडका घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ।