पोखराको मणिपाल अस्पतालमा पनि कुटिए डाक्टर

बिरामीको मृत्युको विषयलाई लिएर पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।

अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका–७ का ५७ वर्षीय सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् ।

किड्नी फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आइसियुमा लगेर भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रहरी र अस्पताल प्रशासनले आक्रमणमा परेका डाक्टर लगायत स्वास्थ्यकर्मीका परिचय खुलाएका छैनन् ।

यसअघि गत भदौ २७ गते हेटोंडास्थित सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।