सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्याएर विभिन्न ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका आधारमा घटनामा संलग्न रहेको खुलेका तीन जनालाई कात्तिक १५ गते पक्राउ गरेको हो। साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थिका अनुसार पक्राउ पर्ने निर्माण व्यवसायीमा टंकनाथ ढकाल, रामेश्वर थापा र प्रकाश बराल रहेका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसँग सम्बन्धित कागजात परिवर्तन गरिएको थियो।
सोही प्रकरणमा यसअघि साइबर ब्युरोले असोज १६ गते आठ जना ठेकेदारलाई एकै पटक पक्राउ गरेको थियो। त्यसबेला प्रक्राउ पर्नेहरूमा किरण मल्ल, भक्तबहादुर लामा, विष्णुमान लामा, गंगाबहादुर सिलवाल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र रितुबहादुर कार्की रहेका थिए।
आइतबार पक्राउ पर्नेहरूलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको अवस्थीले बताए।
पक्राउ परेकाहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता अवस्थीले जानकारी दिए।















