सोलुखुम्बु हेलिकोप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

Image

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुने र घाइते हुने व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नाई निवासी ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् ।

त्यस्तै, दुर्घटनामा घाइते हुनेमा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेका छन् ।

मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका पटेललाई थप उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।