विवादमा तानिएपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् । उनी मंगलबारदेखि चार दिनका लागि बिदामा बसेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अशोक क्षेत्रीका अनुसार न्यायाधीश फुयालले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग कात्तिक १७ देखि २० गतेसम्मको बिदा स्वीकृत गराएका छन् ।
कात्तिक २० गतेपछि तिहार बिदा सुरु हुने भएकाले उनको बिदा कम्तीमा कात्तिक २७ गतेसम्म लम्बिने देखिएको छ ।
न्यायाधीश फुयाल र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटाबीच भएको भनिएको कुराकानीको स्क्रिनसट सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।
यस विषयलाई लिएर सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले पनि चासो व्यक्त गरेको थियो । बैठकले न्यायाधीश फुयालको नाम विचौलिया इनम सापकोटासँग जोडिएको विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
सार्वजनिक भएको स्क्रिनसट र त्यससँग जोडिएको विषयले न्यायालयको निष्पक्षता तथा विश्वसनीयतामाथि प्रश्न उठेपछि घटनाले थप चर्चा पाएको छ ।














