सुर्खेतमा जुवाखालबाट साढे १२ लाख रुपैयाँसहित ५५ जना समातिए

Image

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवातासविरुद्ध सञ्चालन गरेको विशेष अपरेसनमा आइतबार राति वीरेन्द्रनगर सुर्खेतबाट ५५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र ५२ पत्तिको ५३ गड्डी तास बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगराठीका अनुसार आइतबार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा हारजित हुने गरी नगद राखेर जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले संयुक्त रूपमा अपरेसन सञ्चालन गरेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानमा पुगेर खानतलासी गरेको थियो । सोही क्रममा जुवातास खेलिरहेको अवस्थामा ५५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमिक्त सूचना अधिकारी प्रहरी निरीक्षक मगराठीले बाह्रखरीलाई जानकारी दिए ।

सूचना अधिकारी मगराठीका अनुसार जुवाखालबाट नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरेको छ । 

भारतीय रुपैयाँको नेपाली मूल्य २१ हजार रुपैयाँ कायम गर्दा बरामद नगदको कुल रकम १२ लाख ५३ हजार ८४५ रुपैयाँ पुगेको छ । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका स्थानीयदेखि बाहिरी जिल्लाका व्यक्तिसम्म रहेका छन् ।  पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का रोहित गिरी, राजन शर्मा, विक्रम नेपाली, भरत गुरुङ, हेमन्त नेपाली र कबिराम विक छन् । त्यस्तै वीरेन्द्रनगर–७ का हेमराज थापा र सुदीप कसेरा, वडा नम्बर ४ का दीपक सुनार, वडा नम्बर ८ का दीपक कार्की, महेन्द्र शर्मा र शम्भु पन्त पनि पक्राउ परेका छन् ।

त्यसैगरी वीरेन्द्रनगर–१० का ओमप्रकाश विक, मान सिंह रम्तेल, अर्जुन जंग शाही र डिलाराम गिरी, वडा नम्बर २ का जगधन सुनार, वडा नम्बर १२ का रिनबहादुर विक, वडा नम्बर ९ का मदन वली, भक्त थापा, केशवराज गिरी, नारायण जिसी र तीर्थजंग बुढाक्षेत्रीसहित अन्य व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिका स्थान नगरपालिका–६ का रागु सुनार, बर्दियाको बाँसगढी नगरपालिका–९ का अर्जुन शाही, जुम्लाको गुठीचौर गाउँपालिका–४ का गोविन्दप्रसाद प्याकुरेल, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का हिक्मत शाही र कैलालीका विभिन्न स्थानका व्यक्तिहरू पनि छन् । भारतको मतिहारी जिल्ला स्थायी घर भई हाल वीरेन्द्रनगर–३ बस्दै आएका सोनु गुप्ता र राजेश कुमारसमेत पक्राउ परेका छन् ।

सूचना अधिकारी मगराठीका अनुसार पक्राउ परेकामध्ये वीरेन्द्रनगर–७ का सुदीप कसेरा र वीरेन्द्रनगर–४ का सुशील भारती घरधनी हुन् ।