छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम जाँदै

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित आज जनकपुरधाम जाँदै छन् ।

रास्वपा मधेश प्रदेश कार्यालयका अनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन् ।

दिउँसो २ देखि ४ बजेसम्म पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यतालिका रहेको छ । त्यसपछि उनी छठ पर्वको पूजा तथा अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ जानेछन् ।

आइतबार बिहानदेखि जनकपुरधाम र आसपासका विभिन्न धार्मिक स्थलको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनले जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिरलगायतका धार्मिक स्थलको भ्रमण गर्नेछन् ।

आइतबार दिउँसो ३ बजे जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा लामिछाने दम्पती सहभागी हुनेछन् ।

त्यस्तै, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्वका विधि पूरा गरेपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट काठमाडौं फर्किने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।