ट्रम्प, सी र पुटिनबीच चीनमा पहिलोपटक त्रिपक्षीय भेटवार्ता हुँदै

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को साता चीनमा त्रिपक्षीय भेटवार्ता हुने भएको छ । तीनै देशका राष्ट्रप्रमुख सहभागी हुने यो पहिलो संयुक्त भेटवार्ता एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा हुन लागेको हो। ह्वाइट हाउसले शुक्रबार यसको पुष्टि गरेको हो ।

भेटवार्तामा विश्वव्यापी रूपमा आणविक हतियारको संख्या घटाउने तथा यसको विस्तार रोक्ने विषयले प्राथमिकता पाउने बताइएको छ । ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले राष्ट्रपति ट्रम्प आणविक हतियारको संख्या घटाउने विषयमा छलफल गर्न इच्छुक रहेको बताएकी छन् । उनका अनुसार आणविक हतियारको विस्तार विश्वका लागि निकै खतरनाक विषय हो ।

विश्वमा सबैभन्दा धेरै आणविक हतियार भएका तीन मुलुकका नेताबीच हुन लागेको यो भेटवार्तालाई आणविक अस्त्र नियन्त्रणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। यसअघि अमेरिका र रुसबीच भएको आणविक हतियारसम्बन्धी पछिल्लो सन्धि गत फेब्रुअरीमा समाप्त भएको थियो। अर्कोतर्फ चीनले पनि आफ्नो आणविक हतियारको भण्डार तीव्र गतिमा विस्तार गरिरहेको छ ।

यद्यपि, अमेरिकी अधिकारीहरूले यस भेटवार्ताबाटै आणविक हतियारसम्बन्धी नयाँ सम्झौता हुने अपेक्षा नरहेको स्पष्ट पारेका छन् । एक वरिष्ठ अमेरिकी अधिकारीले यसलाई तीन देशका नेताबीच आणविक विषयमा हुन लागेको पहिलो चरणको संवादका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो छलफल भविष्यमा थप फलदायी वार्ताका लागि आधार बन्न सक्छ ।

आणविक हतियारबाहेक तीन नेताबीच इरानको विषयमा समेत छलफल हुने अमेरिकी अधिकारीहरूले बताएका छन् । यसैबीच, राष्ट्रपति ट्रम्पको चीन भ्रमणमा अर्बपति उद्यमी इलन मस्क पनि सहभागी हुने अपेक्षा गरिएको छ। तर उनी तीन देशका राष्ट्रप्रमुखबीच हुने त्रिपक्षीय भेटवार्तामा भने सहभागी नहुने एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् ।