डीडीसीको १२ करोड रकम हिनामिना, ९ कर्मचारी सीआईबीको थुनामा

Image

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुग्ध विकास संस्थान (डीडीसी)मा भएको आर्थिक अपचलनसम्बन्धी अनुसन्धानलाई तीव्र पारेको छ ।

सीआईबीले डीडीसीका तत्कालीन महाप्रबन्धकसहित अन्य कर्मचारीहरूलाई पक्राउ गरी आपराधिक विश्वासघात तथा संगठित अपराध कसुरमा अनुसन्धान अगाडि बढाएको हो । हालसम्म यस प्रकरणमा ९ जना कर्मचारी पक्राउ परिसकेका छन् । 

गत कात्तिक १३ गतेदेखि पक्राउको श्रृंखला सुरु गरेको सीआईबीले पछिल्लो पटक कात्तिक २७ गते सर्लाहीको रामनगर गाउँपालिका–३ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख ४५ वर्षीय नवीनकिशोर शर्मालाई पक्राउ गरेको छ ।

यसअघि कात्तिक १३ गते सीआईबीले डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको लैनचौरस्थित प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख ४५ वर्षीय सञ्जीव झासहित आठजनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्ने अन्य कर्मचारीहरूमा तत्कालीन सिम्ले चिस्यान केन्द्रका प्रमुख तथा हाल बालाजु दुग्ध वितरण आयोजनामा कार्यरत प्राविधिक सहायक ४६ वर्षीय विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख तथा हाल लैनचौरमा कार्यरत प्राविधिक सहायक ५५ वर्षीय मनहरि शर्मा छन् । 

लैनचौरमा कार्यरत प्राविधिक सहायक ४९ वर्षीय रामकेवल राय, वाग्मती धुलो दूध कारखाना हेटौँडामा कार्यरत २८ वर्षीय जितेन्द्रकुमार यादव, नवलपुर गरुडा चिस्यान केन्द्रका प्रमुख ३२ वर्षीय नवीन राय पक्राउ परेका छन् । माडी चिस्यान केन्द्रमा कार्यरत ४६ वर्षीय शिवनन्दन राय र चितवन चिस्यान केन्द्रका प्रमुख ४८ वर्षीय विखबहादुर भण्डारी पनि पक्राउ परेका छन् । 

सीआईबीको अनुसन्धानका क्रममा सरकारको स्वामित्वमा रहेको डीडीसीमा कर्मचारीको मिलेमतोमा संस्थालाई गम्भीर नोक्सानी गरेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कर्मचारीहरूको मिलेमतोमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हिनामिना भएको देखिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर राणाले जानकारी दिए ।

उनीहरूले गैरकानुनी लाभ लिएको पुष्टि भएपछि सीआईबीले मुलुकी अपराध संहिता, २०७४ को ‘आपराधिक विश्वासघात गर्न नहुने कसुर’ तथा ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

यस प्रकरणमा अन्य कर्मचारीको समेत संलग्नता हुनसक्ने आशंकामा सीआईबीले अनुसन्धान जारी राखेको छ । पक्राउ परेकाहरूको बयानका आधारमा थप तथ्यहरू खुल्दै जाने अनुसन्धान अधिकारीहरूले बताएका छन् ।