इजरायलको संसद् (नेसेट)ले मंगलबार नयाँ सभामुख चयन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारका विवादास्पद नीतिहरू उल्ट्याउने विपक्षी गठबन्धनको प्रयासमा यसलाई महत्त्वपूर्ण कदम मानिएको छ ।
गादी आइजेनकोटका निकट सहयोगी मतान कहाना नयाँ सभामुख निर्वाचित भएका छन् । आइजेनकोट नेतन्याहूको स्थानमा नयाँ सरकार गठन गर्ने प्रयासमा छन् । कहानाको निर्वाचनपछि उनको गठबन्धनले नेतन्याहूका केही विवादास्पद नीतिहरू फिर्ता लिने प्रतिबद्धता जनाएको छ ।
१२० सदस्यीय सदनमा कहानाले ६६ मत प्राप्त गरे । उनलाई यहूदी नेतृत्वका विपक्षी दलसँगै अरब नेतृत्वका दलहरूले पनि समर्थन गरेका थिए । नेतन्याहूको गठबन्धनका उमेदवार ओफिर काट्जले भने ५२ मत पाए ।
सभामुख चयनका लागि मतदान हुनुअघि सदनमा सात घण्टाभन्दा बढी समय बहस भएको थियो । मतदानअघि आइजेनकोटले कहानाको चयनलाई लोकतान्त्रिक प्रक्रिया र परिवर्तनको पक्षमा रहेको स्पष्ट बहुमतको अभिव्यक्तिका रूपमा व्याख्या गरेका थिए ।
यो निर्वाचन गत अक्टोबर २७ मा भएको संसदीय निर्वाचनको केही सातापछि भएको हो । उक्त निर्वाचनमा नेतन्याहू र उनका सहयोगीहरूले सदनमा बहुमत गुमाएका थिए । त्यसपछि इजरायली राष्ट्रपतिले आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठन गर्ने जिम्मेवारी दिएका थिए ।
नयाँ गठबन्धन बनाउन आवश्यक समर्थन जुटाउन आइजेनकोटसँग बढीमा थप पाँच साताको समय छ । सरकार गठनका लागि वार्ता जारी रहँदा उनको समूह र असम्बद्ध अरब नेतृत्वका दलहरूले सदनमा आफ्नो बहुमत प्रयोग गरी विधायी एजेन्डा अघि बढाउन सक्नेछन् ।
गत साता यी दलहरूले प्रधानमन्त्रीको कार्यकाल सीमा तोक्ने, सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणबारे छानबिन गर्न सरकारी जाँच आयोग गठन गर्ने, न्यायपालिकाको अधिकार सीमित गर्ने कानुनहरू फिर्ता लिनेलगायत विधेयक पेस गरेका थिए ।















