निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई हटाइयो प्रधानमन्त्रीको भारत भ्रमण दलबाट

Image

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई अन्तिम समयमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको प्रतिनिधिमण्डलबाट हटाइएको छ।

पाण्डेलाई मंसिर ४ गते नै पत्र पठाएर प्रधानमन्त्रीको भारत भ्रमण दलमा सहभागी गराउन नसकिएको जानकारी गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि परराष्ट्र मन्त्रालयले मंसिर ३ गते अध्यक्ष पाण्डेलाई पठाएको पत्रमा बिजनेस डेलिगेसनको सदस्यका रूपमा मनोनयन गरिएको भनिएको थियो। तर त्यो पत्र अहिले रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयले पाण्डेलाई गराएको छ।

पाण्डेलाई सम्बोधन गरेर परराष्ट्र मन्त्रालयले लेखेको पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूबाट मिति २०८३ मंसिर ६–७ गतेसम्म हुने भारतको राजकीय भ्रमणमा यहाँलाई यसअघि माथि उल्लेखित पत्रबाट बिजनेस डेलिगेसनको सदस्यका रूपमा मनोनयन गरिएकामा विशेष परिस्थितिले स्थान अभावका कारण समावेश गर्न नसकिएको हुँदा उक्त मनोनयन रद्द गरिएको बेहोरा अनुरोध छ।’

प्रधानमन्त्रीको भारत भ्रमणमा व्यवसायीका तर्फबाट ५२ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जाँदै छ। तर उक्त भ्रमण दलबाट अन्तिम समयमा पाण्डेलाई हटाइएको हो।

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने व्यावसायिक प्रतिनिधिमण्डलका सबै सदस्य निजी खर्चमा भारत भ्रमणमा जाने गरेका छन्।

यसअघिका प्रधानमन्त्रीहरूको विदेश भ्रमणमा पनि व्यावसायिक क्षेत्रका व्यक्ति निजी खर्चमै सहभागी भएका थिए।