प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा आजको सुनुवाइ रोकिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तय भएको थियो । सुनुवाइ सुरु भएलगत्तै सरकारी वकिलले नवनियुक्त आईजीपी मनोज केसीले म्याद बुझ्न बाँकी रहेको जनाउ इजलासलाई दिएपछि सुनुवाइ रोकिएको हो ।
अब केसीलाई म्याद तामेल भएपछि मात्रै सुनुवाइ अघि बढ्नेछ । त्यसपछि मात्र केसीलाई आईजीपीमा रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशको टुंगो लाग्नेछ ।
सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले तिहारअघि रिट दिएका थिए । कार्कीले आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी रिटमा गरेका छन् ।
मन्त्रिपरिषद्को गत कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । सरकारबाट केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेशको माग छ ।















