स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास चल्दैन: प्रचण्ड

Image

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन्।

मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरी बतास आउन सम्भव नरहेको जिकिर गरे। 

संयोजक प्रचण्डले भने, ‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन। स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन। सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन्। अब हामीले नै जस्तो हुन्छ, हुन्छ भनेर छोडिदियौँ भने र हामी त हार्नेवाला नै हो भनेर हिँड्यो भने त एउटा कुरा हो। हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन। इतिहास र पृष्ठभूमि थाहा नभइ भोट हाल्दैनन्।’

उनले नयाँ राजनीतिक दलले गरेका कामहरू आम नागरिकले विस्तारै बुझ्दै गएको बताए। स्थानीय तहको निर्वाचनमा इतिहास र पृष्ठभूमि र काम हेरेर जनताले मतदान गर्ने भएकाले सबैले सक्रियताका साथ काममा लाग्नुपर्ने उनको भनाई थियो।

स्थानीय तहमा राम्रो परिणाम ल्याउनसके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने जिकिर समेत गरे। 

उनले भने, ‘नयाँको काम बुझ्नेले त बुझिसकेका छन्। गाउँघरमा बुझाउन बाँकी छ। विस्तारै बुझ्छन्, सबैले। स्थानीय तहमा राम्रो परिणाम निकाल्यौँ भने क्रान्तितिर देश फेरि जान्छ। यो कुरालाई तपाईं हामीले जति गहिरो गरी बुझ्छौँ, त्यति जोश आउनेछ।’

संयोजक दाहालले आम कार्यकर्ताले जति धेरै सक्रियता देखाउँछन् त्यति नै बढी सिट स्थानीय तहको निर्वाचनमा जित्ने दाबी गरे।