घरेलु टोली कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सुखद सुरुआत गरेको छ । बिहीबार (मंसिर १०) सुर्खेतको कालुन्चोक क्रिकेट मैदानमा भएको समूह ‘बी’अन्तर्गतको खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध ६ विकेटको जित निकालेको हो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १२८ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । कर्णालीका विपिन रावलले अविजित ६० रन बनाए । उनले ३५ बलमा चार चौका र चार छक्का प्रहार गरे । दिनेश अधिकारी १५ रनमा अविजित रहे । मनीष थापा र कप्तान रविन्द्रजंग शाहीले १३/१३ रन जोडे ।
सुदूरपश्चिमका भोजराज भट्टले दुई तथा सौर्य श्रेष्ठ र कप्तान नारायण जोशीले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
सुदूरपश्चिमका अभिषेक पालले २८, दीपक बोहराले १८, किरणकुमार ठगुन्नाले १४, दीपक रोकायाले अविजित १३ तथा वसन्तसिंह कार्की र नारायण जोशीले ११/११ रन बनाए ।
कर्णालीका दिवान पुन, राजकुमार शाह र दिनेश अधिकारीले दुई/दुई तथा युनिशविक्रम सिंह ठकुरी र प्रकाश जैसीले एक/एक विकेट लिए ।
















