मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकैको हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परेर दुईवटा तेल बोक्ने पानीजहाज (ट्याङ्कर) मा आगलागी भएको इरानले दाबी गरेको छ ।
इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले ती ट्याङ्करहरूले ‘अनधिकृत’ जलमार्ग प्रयोग गर्न खोज्दा विस्फोट भई आगो लागेको जनाएको हो ।
आईआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार पहिचान नखुलेका ती दुवै पानीजहाजले आफ्नो नेभिगेसन प्रणाली बन्द गरेर गोप्य रूपमा जलक्षेत्र पार गर्ने प्रयास गरेका थिए ।
इरानको सरकारी समाचार संस्था प्रेस टीभीका अनुसार धरापमा परेकामध्ये एउटा ट्याङ्करमा २० लाख ब्यारेल कच्चा तेल लोड गरिएको थियो । आईआरजीसीले अमेरिकी सेनाका लडाकु विमानहरूको आडमा ती जहाजहरूले लुकीछिपी हर्मुज जलक्षेत्र पार गर्न खोजेको आरोप लगाएको छ ।
विज्ञप्तिमा अनधिकृत मार्गमा बिछ्याइएका समुद्री धरापमा ठोक्किएर विस्फोट र आगलागी भएपछि ती जहाजहरू रोकिएको उल्लेख छ। पछिल्ला केही सातायता इरानको अनुमतिबिना हर्मुज जलक्षेत्र पार गर्न खोज्ने पानीजहाजहरूमाथि हुने आक्रमण र अवरोधका घटनामा तीव्र वृद्धि भएको छ ।
विश्वको कुल तेल आपूर्तिको महत्त्वपूर्ण हिस्सा ओसारपसार हुने यस रणनीतिक जलमार्गमा भएका यस्ता घटनाले अन्तर्राष्ट्रिय समुद्री व्यापार र ऊर्जा सुरक्षामा थप चिन्ता बढाएको छ।
















