अर्बौं राजस्व उठाउने अन्नपूर्ण कसको ? संघदेखि स्थानीय तहसम्म स्वामित्वको लडाइँ

Image

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चालु आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक भित्र्याएको छ। पाँच लाख आठ हजार पर्यटकबाट एक अर्ब ७७ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको एक्यापको स्वामित्व र आम्दानीमाथि भने विवाद चर्किएको छ।

संरक्षण क्षेत्रको व्यवस्थापन र राजस्व बाँडफाँटमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र समुदायस्तरका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएएमसी) ले आ–आफ्नो दाबी प्रस्तुत गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्र कसको अधिकार क्षेत्रभित्र पर्ने भन्ने बहस सतहमा आएको हो।

मुलुक संघीय संरचनामा गएको एक दशक बितिसक्दा पनि एक्यापको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मार्फत संघीय सरकारकै नियन्त्रणमा छ। यस क्षेत्रबाट संकलित राजस्वको ठूलो हिस्सा पनि स्थानीय तहको सञ्चित कोषमा पुग्दैन। त्यसैले आफ्नै भूगोलभित्रका प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीमा स्थानीय सरकारले अधिकार नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।

सन् १९८६ अर्थात् २०४३ सालमा ‘समुदायमा आधारित संरक्षण’को अवधारणासहित सुरु भएको एक्याप कास्की, लमजुङ, म्याग्दी, मनाङ र मुस्ताङ गरी पाँच जिल्लाको करिब सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। नेपालको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रूपमा रहेको यसले पर्यटक प्रवेश शुल्क, निषेधित क्षेत्र प्रवेश अनुमति, हिमाल आरोहण, जलविद्युत् रोयल्टी तथा वन पैदावार र जडीबुटीबाट आम्दानी गर्दै आएको छ।

आर्थिक वर्ष २०५७/५८ मा ७७ हजार पर्यटक पुगेको यस क्षेत्रमा २५ वर्षपछि चालु आर्थिक वर्षमा पाँच लाखभन्दा बढी पर्यटक आएका छन्। एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार यस वर्ष आएका पाँच लाख आठ हजार पर्यटकमध्ये अधिकांश भारतीय नागरिक हुन्।

पर्यटकको आगमनसँगै प्रवेश शुल्क, जडीबुटी, काठ, जलविद्युत् रोयल्टी र निषेधित क्षेत्र शुल्कबाट एक अर्ब ७७ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको छ। सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकबाट तीन हजार रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ।

तर, यति ठूलो आम्दानी स्थानीय तहको सञ्चित कोषमा पुग्दैन। एक्याप प्रमुख रबिन कडेरियाका अनुसार सरकारले एक्यापलाई छुट्टै बजेट उपलब्ध गराउँदैन। आन्तरिक राजस्वबाटै ११५ कर्मचारी र २५ कार्यालय सञ्चालन भइरहेका छन्।

यस क्षेत्रबाट उठ्ने भ्याट, जलविद्युत् रोयल्टी तथा मुस्ताङ र नार–फूको निषेधित क्षेत्र प्रवेश शुल्क संघीय सरकारका विभिन्न निकाय र संघीय सञ्चित कोषमा जाने गरेको छ। स्थानीय ढुंगा, गिट्टी, बालुवा र जडीबुटीबाट उठेको केही रकम भने ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिका खातामा जम्मा हुन्छ।

प्रवेश शुल्कबाट संकलित रकमको ६० प्रतिशत सीधै एनटीएनसीले प्राप्त गर्ने गरेको छ। यसरी राजस्वको ठूलो हिस्सा र व्यवस्थापन अधिकार संघीय निकायमा केन्द्रित हुँदा संरक्षण क्षेत्रभित्रका स्थानीय सरकार भने निर्णय प्रक्रियाबाट बाहिर रहेको उनीहरूको गुनासो छ।

नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ आफ्नै भूगोलभित्रका प्राकृतिक स्रोत उपयोग गर्नसमेत स्वीकृति लिनुपर्ने र त्यसबाट उठेको राजस्व स्थानीय सञ्चित कोषमा नआउने व्यवस्था संघीयताको मर्मविपरीत रहेको बताउँछन्।

“पर्यटन र प्राकृतिक स्रोतबाट उठेको राजस्वको न्यायोचित हिस्सा सोझै गाउँपालिकाले पाउनुपर्छ,” उनले भने, “संविधानले स्थानीय तहलाई ढुंगा, गिट्टी, बालुवा, जडीबुटी र स्थानीय कर संकलनको एकल अधिकार दिएको छ। तर, मनाङलगायत अन्नपूर्ण क्षेत्रका १५ वटा गाउँपालिकामा स्थानीय सरकारको अधिकार कुण्ठित गरिएको छ।”

चार पक्ष, चार दाबी

अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन र स्वामित्वलाई लिएर अहिले चार पक्षबीच मतभिन्नता छ। स्थानीय सरकार, समुदायस्तरका संरक्षण क्षेत्र व्यवस्थापन समिति, एनटीएनसी र गण्डकी प्रदेश सरकारले संरक्षण क्षेत्रको अधिकार तथा व्यवस्थापनबारे आ–आफ्नो धारणा राख्दै आएका छन्।

पहिलो दाबी स्थानीय सरकारको छ। उनीहरू संरक्षण क्षेत्रको व्यवस्थापनमा संवैधानिक अधिकार र राजस्वको हिस्सा सुनिश्चित हुनुपर्ने माग गरिरहेका छन्।

संरक्षण क्षेत्र प्रभावित स्थानीय सरकारका संयोजक एवं माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले संरक्षण क्षेत्र नियमावली २०५३ र निर्देशिका २०५६ संशोधन गरी संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई गाउँपालिकास्तरीय बनाउनुपर्ने बताए। पर्यटकीय प्रवेश शुल्कको निश्चित प्रतिशत प्रभावित स्थानीय सरकारलाई सीधै हस्तान्तरण गर्नुपर्ने उनको माग छ।

एक्याप क्षेत्रभित्र पर्ने १५ स्थानीय तह र क्षेत्राधिकार विवादित जिल्लाहरू

जिल्लास्थानीय तहहरूप्रमुख पर्यटकीय तथा प्राकृतिक स्रोत (जसको राजस्व पालिकाले गुमाएका छन्)
कास्कीमाछापुच्छ्रे, अन्नपूर्णअन्नपूर्ण आधार शिविर, मर्दी हिमाल पदमार्ग प्रवेश शुल्क, होटल तथा स्थानीय वन पैदावार
मनाङमनाङ ङिस्याङ, नासोँ, चामे, नार्पा भूमिथोरङ-ला पास, तिलिचो ताल, नार्पा भूमिको निषेधित क्षेत्र शुल्क, हिमाल आरोहण रोयल्टी, यार्सागुम्बा
मुस्ताङघरपझोङ, थासाङ, बारागुङ मुक्तिक्षेत्र, लो-घेकर दामोदरकुण्ड, लोमान्थाङमुक्तिनाथ दर्शन, उपल्लो मुस्ताङको महँगो निषेधित क्षेत्र परमिट (प्रतिपर्यटक ५०० अमेरिकी डलर), नदीजन्य ढुंगा-बालुवा
म्याग्दीअन्नपूर्णपुनहिल, तातोपानी, घोडेपानी पदमार्ग शुल्क, नदीजन्य तथा वन पैदावार
लमजुङमर्स्याङ्दी, क्व्होलासोथार, बेँसीसहर (आंशिक)अन्नपूर्ण चक्रको प्रवेशद्वार, जलविद्युत् आयोजनाहरूको स्थानीय रोयल्टी, पदमार्ग शुल्क

“हामी संरक्षण विरोधी होइनौं। तर, तीन दशक पुरानो नियमावली र निर्देशिका अनुसार साविकका गाविस र वडाका आधारमा बनाइएका समितिलाई टेकेर पालिकाको संवैधानिक अधिकार खोस्न मिल्दैन,” उनले भने।

संविधानको अनुसूची–८ ले ढुंगा, गिट्टी, बालुवा, पर्यटन तथा स्थानीय करलाई स्थानीय तहको एकल अधिकार सूचीमा राखेको छ। तर, संरक्षण क्षेत्र नियमावली २०५३ अनुसार स्रोत संकलन र परिचालन पुरानै संयन्त्रबाट हुँदै आएको छ। यसले कास्की, मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दीका १५ स्थानीय तहलाई आफ्नो भूगोलबाट उठ्ने प्राकृतिक स्रोत तथा पर्यटनको प्रत्यक्ष लाभ लिनबाट वञ्चित गरेको स्थानीय सरकारको दाबी छ।

दोस्रो पक्ष समुदायस्तरका संरक्षण क्षेत्र व्यवस्थापन समिति हुन्। एक्यापभित्र ५७ वटा यस्ता समिति छन्। उनीहरू विगतदेखि समुदायको सहभागितामा वन, वातावरण र प्राकृतिक स्रोत संरक्षण गर्दै आएको भन्दै आफ्नो व्यवस्थापन मोडल कायम रहनुपर्ने पक्षमा छन्।

संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेका अनुसार ढुंगा, बालुवा, काठ र जडीबुटीबाट उठेको राजस्व समितिको स्थानीय खातामा जम्मा हुन्छ। गाउँको आमभेलाबाट निर्णय गरेर उक्त रकम बाटो, खानेपानी, विद्यालय, सरसफाइ तथा वन्यजन्तुबाट भएको क्षतिको क्षतिपूर्तिमा खर्च गरिन्छ।

तेस्रो पक्ष एनटीएनसी हो। संघीय सरकारअन्तर्गतको यो संस्थाले हाल एक्यापको व्यवस्थापन गर्दै आएको छ। तर, स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्न कानुनी र नीतिगत कठिनाइ रहेको उसको भनाइ छ।

एक्याप प्रमुख कडेरियाका अनुसार संरक्षण क्षेत्र नियमावली २०५३ संशोधनको प्रक्रियामा छ। संशोधित व्यवस्थामा गाउँपालिकास्तरीय संरचना निर्माण र स्थानीय तहसँग राजस्व समन्वय गर्ने विषय समेटिनेछ।

संघीय सरकारले व्यवस्थापन अधिकार प्रत्यायोजन नगरेसम्म स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण गर्न कठिनाइ रहेको उनले बताए। राजनीतिक अस्थिरताका कारण सरकारले यसबारे ठोस निर्णय गर्न नसकेको उनको भनाइ छ।

चौथो दाबी गण्डकी प्रदेश सरकारको छ। प्रदेश सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन आफ्नो मातहत आउनुपर्ने बताउँदै आएको छ।

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पूर्णेश्वर सुवेदीले प्रदेशको वन ऐनमै संरक्षण क्षेत्रको व्यवस्थापन प्रदेशले गर्ने प्रावधान राखिएको बताए। उनका अनुसार प्रदेश विकास समस्या समाधान समिति र मुख्यमन्त्री कार्यालयका बैठकबाट निर्णय गरी प्रदेश सरकारले आफ्नो माग संघीयस्तरको राष्ट्रिय विकास समस्या समाधान समितिमा सिफारिस गरिसकेको छ।

संरक्षण क्षेत्रको व्यवस्थापन अधिकार हस्तान्तरणबारे अध्ययन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा समितिसमेत गठन भएको छ। तर, संघीय कानुनी व्यवस्था स्पष्ट नभएसम्म प्रदेशलाई व्यवस्थापन हस्तान्तरण गर्न कठिन रहेको सुवेदीले बताए।

नयाँ संविधान, पुरानै कानून

अन्नपूर्ण संरक्षण क्षेत्रको विवादको मुख्य जड संविधानले दिएको अधिकार र त्यसलाई कार्यान्वयन गर्न बाधक बनेका पुराना कानुनी व्यवस्थाबीचको अन्तरविरोध हो।

संविधानको धारा ५९ को उपधारा (४) र (५) ले प्राकृतिक स्रोतबाट प्राप्त लाभ तीन तहका सरकारबीच समन्यायिक रूपमा वितरण गर्ने तथा परियोजनाबाट प्रभावित क्षेत्र र स्थानीय समुदायलाई वस्तु, सेवा र रोयल्टीका रूपमा लाभ उपलब्ध गराउने व्यवस्था गरेको छ।

तर, अन्नपूर्ण क्षेत्रमा तीन दशक पुरानो संरक्षण क्षेत्र नियमावली २०५३ र निर्देशिका २०५६ अनुसार व्यवस्थापन हुँदै आएको छ। संघीयता कार्यान्वयनपछि स्थानीय तहको संरचना फेरिए पनि संरक्षण क्षेत्र व्यवस्थापनको पुरानो संरचना परिवर्तन हुन सकेको छैन।

वातावरण कानूनविज्ञ पदमबहादुर श्रेष्ठ संघ, प्रदेश र स्थानीय तहबीच क्षेत्राधिकार तथा सञ्चालनबारे एउटै धारणा नबन्दा विवाद बढेको बताउँछन्।

“कानून संशोधन गरेर एक्यापको अधिकार, दायित्व र राजस्व संकलनको सीमा तोक्नुपर्छ,” उनले भने, “तीनै तहबीच न्यायोचित राजस्व बाँडफाँटको व्यवस्था गर्नुपर्छ।”

स्थानीय सरकारका प्रतिनिधिहरू पनि पुराना नियमावली र निर्देशिका संशोधन गरेर आफ्नो भूगोलभित्रका प्राकृतिक स्रोत उपयोग गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताउँछन्।

राजस्वको विवादले संरक्षणमै असर पर्ने जोखिम

अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन र राजस्व बाँडफाँटको विवाद केवल आर्थिक अधिकारमा सीमित छैन। लामो समयसम्म संस्थागत अन्योल कायम रहे संरक्षणका गतिविधि प्रभावित हुन सक्ने जोखिमसमेत छ।

एक्यापले हिमाली क्षेत्रमा हिउँचितुवा र मानिसबीचको द्वन्द्व न्यूनीकरणदेखि वन्यजन्तुबाट हुने क्षति नियन्त्रणसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। नार–फू र लोमान्थाङमा तारबारसहितका छ वटा सुरक्षित खोर निर्माण गरिएको छ। वन्यजन्तुबाट मानिस र बालीनालीमा पुगेको क्षतिको राहतस्वरूप किसानलाई एक करोड १० लाख रुपैयाँ वितरण गरिएको छ।

त्यस्तै, छाडा कुकुरको आक्रमण नियन्त्रणका लागि ३५४ वटा कुकुरको बन्ध्याकरण गरिएको एक्यापले जनाएको छ।

एक्याप प्रमुख कडेरियाले व्यवस्थापनसम्बन्धी अन्योल लम्बिँदा यस्ता संरक्षणमुखी कार्यक्रम प्रभावित हुन सक्ने जोखिम रहेको बताए।

एक्यापको नियमावली संशोधन प्रक्रिया अघि बढेको भनिए पनि कहिले टुंगिने भन्ने स्पष्ट छैन। समुदायमा आधारित संरक्षणको अवधारणाबाट सुरु भएको परियोजना संघीयता कार्यान्वयन भएको दशक बितिसक्दा पनि कसको नियन्त्रणमा रहने भन्ने विवादमै छ।

अर्बौं रुपैयाँ राजस्व उठाउने अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन कसले गर्ने भन्ने प्रश्नसँगै प्राकृतिक स्रोतबाट प्राप्त लाभमा स्थानीय समुदाय र सरकारको हिस्सा कसरी सुनिश्चित गर्ने भन्ने बहस पनि जोडिएको छ। संरक्षणको जिम्मेवारी स्थानीय समुदायले लिने तर स्रोत र आम्दानीमाथिको अधिकार अन्य निकायमा सीमित रहने अवस्था कहिलेसम्म कायम रहने भन्ने प्रश्न अनुत्तरित छ।

आखिर अन्नपूर्ण संरक्षण क्षेत्रको भविष्य कसको हातमा सुरक्षित हुन्छ—संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह वा दशकौंदेखि संरक्षणमा योगदान दिँदै आएका स्थानीय समुदायको?