दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको फाइनलमा आर्मी

Image

सुदूरपश्चिम प्रदेशविरुद्ध सात विकेटको सहज जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब १०औँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । आइतबार सुर्खेतको विरेन्द्रनगर क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ७० रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीका कविता कुँवरले अविजित २०, कप्तान लक्ष्मी साउदले अविजित १८, सम्झना खड्काले १६ र रुवी पोदारले १३ रन बनाए । सुदूरपश्चिमका निम्ति एकमात्र विकेट अनु कडायतले लिइन् । आर्मीका दुई ब्याटर रन आउट भएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १६.२ ओभरमा सबै विकेट गुमाएर ६९ रनको योगफल तयार पारेको थियो ।सुदूरपश्चिमका कप्तान ऋतु कनोजियाले १९ र याशु पाण्डले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीकी लक्ष्मी साउदले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभरमा १७ रन खर्चिइन् । यसैगरी, इश्वरी विष्टले दुई तथा मनिषा उपाध्याय र संगीता गुरुङले एक–एक विकेट लिए ।

अब आर्मीले स्वर्ण पदकका लागि सशस्त्र प्रहरी बल एपीएफ र वाग्मती प्रदेशबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सुदूरपश्चिम कांस्यपदकका लागि दोस्रो सेमिफाइनलमा हार्ने टोलीसँग भिड्नेछ ।