नाडा अटोमोबाइल्स एसोसिएसनको आसन्न निर्वाचन सुरु भएसँगै व्यवसायको लागि दौडधुप सुरु भएको छ । आगामी पुस २० र २१ गते हुने नाडा निर्वाचनमा पूर्व उपाध्यक्ष आकाश गोल्छा र करण चौधरी प्यानल नै बनाएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् ।
नाडाको नयाँ नेतृत्वको लागि यस अघि तीन जना अध्यक्षको प्रत्यासी देखिएपनि सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ पछि हटेपछि चौधरी र गोल्छा आमनेसामने भएका हुन् । श्रेष्ठले आफू पछि हटेर करण चौधरीलाई अघि सारेका छन् । सुरुमा करण चौधरीले नै आकाश गोल्छालाई अध्यक्षको उम्मेदवार हुन आग्रह गरेका थिए । तर राजनबाबुले करणलाई नै अघि बढ्दा सघाउने निर्णय गरेपछि नयाँ टिमको तयारी भएको थियो ।
यस्तै निर्वाचनको तयारीकाबिच नाडामा सर्वसम्मत नेतृत्व चयनको लागि निर्णयक पहल भइरहेको छ । नाडाका अध्यक्ष ध्रुव थापा सहमतिको प्रयासमा जुटेका छन् । चौधरी र गोल्छा आलोपालो अध्यक्ष बन्ने सहमतिको अन्तिम तयारी भएको छ ।
अध्यक्ष थापाको मध्यस्थतामा सोमबार बसेको संयुक्त बैठकले अहिलेको आर्थिक मन्दीमा निर्वाचनमा गएर साथीहरूलाई दौडधूप गराउनुभन्दा सर्वसहमतिले नेतृत्व चयन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको थियो ।
जसमा अध्यक्षका आकांक्षी चौधरी र गोल्छालाई आधा आधा कार्यकाल चलाउने प्रस्ताव समेत गरिएको छ । त्यस्तै नाडाका पूर्वअध्यक्षहरुले पनि सहमितिबाटै नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन । सहमतिका लागि आज पनि बैठक बस्दै छ ।
आगामी पुस २० गते नाडाको अधिवेशन हुँदैछ । ३३ सय प्रतिनिधि रहने अधिवेशनले अध्यक्षसहित १७ जना कार्यसमिति सदस्य चुन्नेछ। तिनै सदस्यले उपाध्यक्षसहितका पदाधिकारी छनोट गर्ने नाडाको विधानमा व्यवस्था छ । सोही अधिवेशनमा हुने नाडाको चुनावमा चौधरी र गोल्छाले प्यानलसहित लड्ने तयारी गरेका हुन् ।
गोल्छा फोर्ड गाडीको आधिकारीक वितरक जिओ अटोमोबाइल्सका प्रवन्ध निर्देशक हुन भने चौधरी सुजुकी गाडीको आधिकारीक विक्रेता सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् ।













