पाल्पामा घरमा आगोलाग्दा ९ महिने शिशुको मृत्यु

पाल्पाको निस्दीमा घरमा आगो लाग्दा ९ महिने शिशुको मृत्यु भएको छ ।

निस्दी गाउँपालिका–३ क्यामरुङका श्यामबहादुर पल्लीको घरमा आगलागी हुँदा जलेर नौ महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो अभिभावक शिशुलाई घरमा सुताएर नजिकैको बारीमा काम गर्न गएको बेला घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार गोठमा गाईवस्तुलाई कुडो पकाउन सल्काएको आगो घरमा सल्किँदा घटना भएको हो । आगलागीमा परेर गोठमा रहेका भैँसी र बाख्रासमेत मरेका छन् ।