सुकेटार विमानस्थलमा आज पनि उडान अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । भारी हिमपात र प्रतिकूल मौसमका कारण आज पनि ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तर उडान अवरुद्ध भएको हो ।

यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङले जनाएको छ । वायु सेवा निगमका ताप्लेजुङका स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूका अनुसार गएको शुक्रबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो ।
आजको उडान अवरुद्ध बनेपछि काठमाडौँका लागि टिकट बुकिङ गरेका १४ यात्रु रोकिएका छन् । काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका १२ यात्रु पनि उतै रोकिएका स्टेशन इन्चार्ज लिम्बूले बताए । सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटकपटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगमले जनाएको छ ।