सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । उनले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध भएपछि त्यसको बचाउ गरेका छन्।

शुक्रबार माओवादीको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने बताए। बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले एमसीसी संसद्‌बाट अनुमोदन भएसँगै अब सत्ता गठबन्धन आगामी चुनावसम्म नै जाने निश्चित भएको समेत बताएका हुन्।

‘एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको असमझदारी अत्य भएको छ, अब यो गठबन्धन चुनावसम्म नै जान्छ,’ उनले बैठकमा भने।