प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आज बसेको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको र उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।
सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अष्गाडि नबढाउन आग्रह गरिन् ।
लगतै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिएका थिए, तर कांग्रेस सांसदहरु उभिइरहे ।
सत्तापक्षका सांसदहरू पनि केहीबेर उभिरहे । सत्तापक्षले यो हाउस प्रतिपक्षीको मात्रै होइन भनिरहेका थिए भने प्रतिपक्षीले सत्ता अनुसार सभामुख चलेको आरोप लगाइरहे ।















