काठमाडौं : काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न २४सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ। जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ । समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिनसक्ने बताइएको छ। जनस्वास्थ्यको सवालमा सम्झौता नगर्ने भन्दै कामपाका प्रमुख बालेन्द्र साहले पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न नगरवासीलाई अपिल गरेका छन्।
हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ। यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ। होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई आग्रह गरिएको छ । विद्यार्थीलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयमा जानकारीमूलक कार्यक्रम गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए। ‘शहरी स्वास्थ्य क्लिनिक र शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा जीवन जल, पानी शुद्ध गर्ने औषधि अभाव नहुने व्यवस्था मिलाएका छौँ’, उनले भने। उनले बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिनसक्ने गरी प्रबन्ध मिलाएको बताए।
त्यस्तै महानगरपालिकाले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ।
https://www.youtube.com/watch?v=wAIZFJ2gKfI















