गायक प्रकाश दूतराजले आफ्नो पछिल्लो गीत ‘करिम’ युट्युबबाट हटाएका छन् । केही समय अगाडि युट्युबमार्फत सार्वजनिक गरेको गीत ‘करिम’ उनले उक्त प्लेटफर्मबाट शुक्रबार हटाएका हुन् ।
गीतमा प्रकाशसँगै शान्तिश्री परियारको स्वर थियो । गीतको भिडियोलाई लिएर आलोचना भएपछि उनले युट्युबबाट गीत नै हटाएका हुन् ।
प्रकाश स्वयंले समेत अभिनय गरेको भिडियोमा बादी समुदायका महिलाको पीडा र बाध्यतालाई उठान गरिएको थियो ।
भिडियोले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरू जति पढे लेखे पनि देहव्यापारी हुन् भन्ने भाष्यलाई निरन्तरता दिन खोजेको भन्दै कतिपयले सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
गीतले बादी समुदायको स्वाभिमानमा ठेस पुर्याएको भन्दै हटाउन मागसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा समेत निवेदन परेको थियो ।














