जनता समाजवादी पार्टी(जसपा)का महन्त ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा दाबी गरेको छ ।
आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टी आधिकारिकताको दाबी गरेको हो । आयोगमा पुगेर दुवै पक्षका नेताहरूले पार्टीका नाम चिन्ह आफूहरूले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेको दाबी गरेका छन् ।
सुनुवाइपछि जसपा उपेन्द्र पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको मागदावीमा विधि र विधान अनुरूप टुङ्गो लगाउनुपर्ने बताए । आफुहरुको हस्ताक्षरलाई सर्वोच्चले समेत मान्यता दिएकाले आफूसँग बहुमत सदस्य रहेको उनको भनाई छ । अर्को पक्षले नै पार्टीबाट अलग्गिने बताएको उनले बताए ।
त्यस्तै महन्त पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दाबी कानूनसम्वत नरहेको बताए । उनले आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने धारणा ब्यक्त गरे । पार्टीको आधिकारिकता विवाद निरूपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अन्तर्गत आयोगले सुनुवाइ गर्न लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ ।














