अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सुमित्रा अमात्यले गुठीको जग्गा मिचेर घरको पर्खाल बनाएको पाइएपछि ललितपुर महानगरपालिकाले डोजर चलाइदिएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।
ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो । गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अँटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।
घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ । गुठीयारले मन्दिरको जग्गा मिचेको भन्दैपटक पटक अनुरोध गर्दा पनि नमानेपछि भत्काउनुपरेको मेयर महर्जनले बताए ।
उनले भने, “यो देवस्थलको जग्गा हो । महर्जन र अमात्य गुठी थियो । जहाँ भोज खाने र पूजा गर्ने स्थान थियो । त्यही नै हडपेको पाइयो । सम्पदा मिचेर पर्खाल बढाउने र ढोका राख्न अनुमति नदिँदा पनि बनाएपछि भत्काउनुपरेको हो ।”














