इजराइलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जानका लागि श्रमिकहरूले पेश गरेको कागजातको आधिकारिकता जाँच हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालबाट लैजान लागिएका सहायक कामदारको छनोट प्रक्रियामा पेस गरिएका कागजातको आधिकारिकता जाँच गर्न उच्चस्तरीय छानबिन समिति बनाएको हो । मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
इजरायलले दुई हजार नेपाली केयर गिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले गत असार ११ देखि भर्ना छनोट प्रक्रिया अघि बढाएको थियो । सुरुमा इजरायलले ५ सय जना लैजाने भनेको थियो । त्यसका लागि तीन सय जनालाई वैकल्पिकमा राख्ने गरी ८ सय जना माग गरिएको थियो । तर, अनलाइनमार्फत चार हजार २४ जनाको उम्मेदवारी परेको थियो, जसमा दुई हजार दुई सय ९ जना पुरुष र एक हजार आठ सय १५ महिला छन् ।
इजरायलले ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष लैजाने बताएको छ । तर, पुरुषको उम्मेदवारी बढी परेपछि सरकारले ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिलालाई अवसर दिन इजरायलसमक्ष आग्रह गरेको छ । छनोट भएकाहरूको मासिक तलब ५८ सय ८४ इजरायली मुद्रा (करिब दुई लाख रुपैयाँ) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ ।
तर भर्ना प्रक्रियामा सहभागी भएका कतिपय कागजात नक्कली भएको कुरा आएपछि विभागले स्वीकृत गरेका कागजातमाथि पनि छानबिन गर्ने निर्णय मन्त्रालयले गरेको हो । केयरगिभरमा जान खोज्ने कतिपय युवाहरूलाई अधिकांश तालिम केन्द्रहरूले तालिम नै नदिई वा पूरा अवधिको तालिम नदिई तीन महिना तालिम दिएको लेखेर प्रमाणपत्र बिक्री गरेको भेटिएको थियो ।
छानबिन समितिले इजरायल र नेपालको सम्झौताअनुसार तोकिएको सर्तमाथि छानबिन गर्ने जनाएको छ । जसमा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधान छ । यो पटक भाषा परीक्षालाई थप पारदर्शी बनाउन भन्दै ब्रिटिस काउन्सिलबाट परीक्षा लिइएको छ ।
इजरायल जान छानिएका नेपाली कामदारले त्यहाँको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने विभागले जनाएको छ । इजरायलले २०२२ को अगस्टदेखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयरगिभर लैजान थालेको हो ।














