हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन सर्वोच्चको परमादेश

सर्वोच्च आदालतले हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन परमादेश जारी गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा शुक्रबार परमादेश जारी गरेको हो ।

हिमालय एयरलाइन्स प्रा. लि र विजयबहादुर श्रेष्ठले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थल कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए ।

ग्राउन्ड ह्यान्डलिङ तथा भूमिस्थ सेवा सञ्चालन निर्देशिका अनुसार हप्तामा ३५ नियमित उडान गर्ने कम्पनी आफैँले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था छ ।

तर हिमालय एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको उपकरण खरिद गरे पनि नदिएको भन्दै मुद्दा दायर गरेको थियो ।

हिमालय एयरलाइन्सले २०७९ फागुन ४ गते प्राधिकरणविरुद्ध मुद्दा दायर गरेको थियो । १३ पटक पेसी तारेखपछि बारम्बार हेर्न नभ्याइने भन्दै पन्छाइएको मुद्दाको फैसला भएको छ ।