गोरखाबाट छुटेको बसभित्र भेटियो पाँच जनाको शव

Image

उत्तरी गोरखाको लापुबेशीबाट काठमाडौँका लागि छुटेको बस नौबिसे – नागढुङ्गा सडक अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्थामा बसभित्र पाँच जनाको शव फेला परेको छ । चालक दलका तीनसहित र दुई यात्रुको शव भेटिएको गोरखा दरौदी यातायात कम्पनी सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

शुक्रबार बिहान गोरखाको लापुबेशीबाट काठमाडौंको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस भित्र बस चालक तथा साहु मदन परियारको शव पहिचान भएको हो । चालक तथा साहु भिमसेन थापा गाउँपालिका – ४ धावाका स्थायी बासिन्दा हुन् । साथै सहचालक बिनय भट्टराई र गण्डकी गाउँपालिका – ४ फुजेलका नबराज तिवारीको शव फेला परेको अध्यक्ष खत्रीले बताए ।

बसमा सबार दुई जना यात्रु मध्ये एक जना धार्चे गाउँपालिका – ७ खानीगाउँका २७ वर्षीय सुकबहादुर गुरुङ रहेको ७ का वडा अध्यक्ष राकेश गुरुङले पुष्टि गरे । अर्का यात्रु सुकबहादुर गुरुङको सम्र्पकमा मुग्लिङबाट बसमा चढेकाले उनको पहिचान भने नखुलेको वडा अध्यक्ष गुरुङको भनाइ छ ।

गत शुक्रबार बिहान ७ बजे गोरखाबाट काठमाडौँका लागि चार जना यात्रु लिएर छुटेको बस आइतबारसम्म सम्पर्क बिहीन थियो । झ्याप्लेखोलामा नेपाली सेना, नेपाली प्रहरी र स्थानियजनप्रतिनिधि सहितको टोलीले खोजी कार्यलाई तीव्रता दिएका छन् ।