आज (आइतबार) देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
यस क्रममा दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
यसैबीच पहाडी क्षेत्र भए पनि आज काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भावना नरहेको मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘आज उपत्यकाको मौसम आंशिक बदली (आकाशमा थोरै थोरै बादल लागे पनि घाम देखिने) मात्र हुन्छ, वर्षाको सम्भावना देखिएको छैन’, उनले भनिन् ।
यस्तै राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।