आइतबार दिउँसो कालिकोटमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र एकको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १३ जना घाइते छन् ।
क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेको कर्णाली प्रदेश १ ज ५६ नम्बरको बोलेरो कालिकोटको पलाता गाउँपालिका–३ राडुनेटामा दुर्घटनामा परेको हो । दुई वर्षअघि ट्र्याक खुलेको सडकमा उकालो चढ्न नसक्दा बोलेरो सडकबाट ५ सय मिटर तल खसेको थियो । उक्त बोलेरो खिनबाट पलाता जाँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उक्त बोलेरोमा ५ यात्रु सिट पास भए पनि चालकसहित २० जना सवार थिए ।
मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दशकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाँया शाही, पलाता–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय चालक धनीराम रावत रहेका छन् । रावतको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । जिप दुर्घटनामा घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पलाता गाउँपालिका–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकायालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । उपचाररत केही घाइतेको अवस्था पनि गम्भीर रहेको प्रदेश अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
घाइते यात्रुका अनुसार ओभरलोड बोलेरो साँघुरो सडकमा उकालो चढ्न नसकी ‘ब्याक’ भएर तल खसेको हो । बोलेरोभित्र १० जना र पछाडि १० जना यात्रु सवार रहेको घाइते भूपेन्द्र रोकायाले बताए । ‘गाडीभित्र भएकाहरू ब्याक हुँदा निस्कनै पाएनन्,’ उनले भने, ‘भिरालो ठाउँमा भर्खर खुलेको ट्र्याकमा धेरै यात्रु राखेर सवारी चलाउनु नै गल्ती थियो ।’ उनका अनुसार दुर्गम गाउँमा अन्य सवारीसाधन नचल्ने हुँदा कोचाकोच गरेर एउटै गाडीमा चढ्नुपर्ने बाध्यता छ ।