सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही लगिएको छ ।
लामिछानेलाई पोखराबाट बुद्ध एयरको विमानमार्फत आज १२:२० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको थियो । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् । ‘सरकारी वकिलको कार्यालय पुराए लगत्तै बयान लिइनेछ’, डीएसपी खनालले भनिन् ।
उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो ।
लामिछानेलाई रुपन्देही लगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकले गौतमवुद्ध विमानस्थल भैरहवाअगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग यसअघि दुई दिन बयान लिएर पोखरा पठाइएको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।















