राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माग गरेका हुन् ।
गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ । नागरिकताको प्रमाणपत्र अवैध ठहर भएसँगै गत शुक्रबार प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
नागरिकताको प्रमाणपत्र लिएसँगै पार्टी सभापतिमा चयन भएका लामिछाने पुनः आफूलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित सत्तारुढ दलभित्र लविङ गरिरहेका छन् ।
सोही क्रममा मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् ।
उनले गैरसांसदलाई मन्त्री बनाउने सक्ने संविधानको धारा ७८ को व्यवस्थालाई टेकेर फेरि उपप्रधान तथा गृहमन्त्री हुन चाहेका छन् ।
नागरिकता सम्बन्धी विवादका कारण रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव छ ।