पाकिस्तानको हवाई हमलामा अफगानिस्तानमा १५ जनाको मृत्यु

Image

पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ । पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ । तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानद्वारा पाक्टिकाको बर्मलमा राति भएको हवाई हमलाप्रति कडा प्रतिक्रिया जनाएको छ ।

अफगानिस्तानको मन्त्रालयले पाकिस्तानलाई यस आक्रमणको उचित जवाफ दिइने बताएको छ । मन्त्रालयले भन्यो, ‘पाकिस्तानको हवाई हमलामा वजिरिस्तानका शरणार्थीहरूलाई निशाना बनाइएको छ । त्यहाँ रहेका मानिस पाकिस्तानबाट शरणार्थी भएर अफगानिस्तान पुगेका हुन्। यस हमलामा ज्यान गुमाउनेमा धेरै बालबालिका र महिला छन् । यस्तो अवस्थामा पाकिस्तानले अफगानिस्तानमा आक्रमण गरेर आफ्नै जनता मारेको हो भन्ने प्रश्न उठिरहेको छ ।’

पाकिस्तानी अधिकारीहरूले भने अफगानिस्तानमा भएको हवाई हमलाको बारेमा अहिलेसम्म कुनै पुष्टि गरेका छैनन् । मिडिया रिपोर्टका अनुसार पाकिस्तानी सेनाका नजिकका स्रोतहरूका अनुसार यस हवाई हमलाको माध्यमबाट सीमावर्ती तालिबान स्थानहरूलाई निशाना बनाइएको हो ।

पाकिस्तानी तालिबानले पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण बढाएको जनाइएको छ । पाकिस्तानी अधिकारीहरूले अफगान तालिबानले पाकिस्तानी आतंकवादीहरूको आक्रमण रोक्न आफूहरूलाई सहयोग नगरेको दाबी गरेका छन् । तालिबान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावरजामीले पाकिस्तानी रक्षा स्रोतहरूले गरेको दाबीलाई खण्डन गरेका छन् ।

खावरजामीले आक्रमणमा धेरै बालबालिका, महिला र अन्य सर्वसाधारण मारिएका र घाइते भएको बताए । यद्यपि हताहतको यकिन संख्या भने आउन सकेको छैन । हालसम्म भग्नावशेषबाट महिला र बालबालिकासहित १५ जनाको शव निकालिएको छ । यो संख्या अझै बढ्न सक्छ।

तालिबान र पाकिस्तान बीच तनाव लगातार बढिरहेको छ ।