युनाइटेडसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल १९ औं खेलमा बराबरीमा रोकिएको छ ।

गएराति लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरी खेलेको हो । घरेलु मैदान एन्फिल्डमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले ५२ मिनेटमा गोल खाएको थियो ।

ब्रुनो फर्नान्डेजको पासमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमा लिभरपुलले गोल फर्कायो । अलिस्टरको पासमा कोडी गाक्पोले गोल गरी लिभरपुललाई बराबरीको अवस्थामा पुर्‍याएका थिए ।

७० मिनेटमा लिभरपुलले पाएको पेनाल्टी अवसरलाई मोहम्मद सलाहले सदुपयोग गरे । युनाइटेडले १० मिनेटमै बराबरी गोल फर्कायो । ८० मिनेटमा युनाइटेडका अमद डियालोले गरेको गोल निर्णायक बनेपछि लिभरपुल र युनाइटेडले अंक बाडेका हुन् ।

१९ खेलबाट ४६ अंकसहित लिभरपुल शीर्षस्थानमा छ । एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा छ । म्यानचेस्टर युनाइटेड २० खेलबाट २३ अंक जोड्दै १३ औं स्थानमा छ ।